काभ्रे सेवा समाजको समन्वयमा काठमाडौं विश्वविद्यालयले काभ्रेका १३ वटै स्थानीय तहका दुई दुई जना विद्यार्थीलाई कृषि र कृत्रिम बौद्धिकता (एआई) अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने तयारी गरिएको छ ।
शुक्रबार धुलिखेलमा काभ्रेका स्थानीय तहका प्रमुख तथा उप प्रमुखहरुसँगको अन्तक्रिय। कार्यक्रमा केयूले ५० प्रतिशत छात्रवृत्ति दिने तथा २५ प्रतिशत स्थानीय तहले उपलब्ध गराउने तथा बाँकी २५ प्रतिशत विद्यार्थीले व्यहोर्ने गरी सो छात्रवृत्ति कार्यक्रम ल्याउन लागिएको हो ।
काठमाडौं विश्वविद्यालयका कुलपति प्रा.डा. अच्युत वाग्लेको उपस्थितिमा भएको सो अन्तक्रियामा उपकुलपति वाग्लेले यसै वर्षबाट सो छात्रवृत्ति कार्यक्रम लागु गर्न तत्काल पालिकाहरुसँग सम्झौता गर्न काभ्रे सेवा समाजलाई आग्रह गर्नुभयो ।
काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर राजधानीमा विभिन्न पेशा र व्यबसायमा संलग्न कभ्रेलीहरुको सहभागितामा गठित काभ्रे सेवा समाजले काभ्रे जिल्लाको विकास लगायतका क्षेत्रमा के योगदान गर्न सक्छ भन्ने विषयमा समेत सो अन्तक्रिया कार्यक्रममा छलफल भएको थियो ।
छलफलमा स्थानीय पालिकाका प्रतिनिधिहरुले समाजले थिङ्क ट्याङका रुपमा पालिकाहरुलाई सहयोग गर्न जिल्लाका समग्र हितका लागि आवश्यक ठूला योजना तथा कार्यक्रममा पालिकाहरुबीच समन्वयकारी भूमिका निर्वाह गर्ने जस्ता कार्यमा केन्द्रित हुन सुझाव दिएका थिए ।
सो अन्तक्रिया कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्यान्जुले काभ्रे सेवा समाजमा देशका प्रशासनिक, न्याय, सुरक्षा निकाय तथा व्यापार व्यबसायमा उच्च स्थानमा रहेर सेवा गरेका अनुभवी विज्ञ व्यक्तिहरु रहेको भन्दै सो संस्थाले विश्वभर रहेका काभ्रेलीहरुलाई पनि समाजमा समेटेर राम्रो डायसफोरा निर्माण गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पाँचखाल नगारपालिका प्रमुख महेश खरेलले पाँचखाल क्षेत्रमा कृषिको आधुनिकीकरणसँग त्यसलाई कृतिम बौद्धिकतासँग जोड्ने प्रयास भई रहेको बताउनुभयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, नमोबुद्ध नगरपालिकाका प्रमुख कुनशाङ लामा पूर्व सचिव तथा शिक्षविद जनार्दन नेपाल तथा काभ्रे सेवा समाजका अध्यक्ष पुरुषोत्तम नेपाल, पूर्व अध्यक्ष पह्लाद केसी लगायतले काभ्रे सेवा समाज र स्थानीय सरकारबीच सहकार्यको संभावना बारे छलफल गर्नु भएको थियो ।