Facebook
ने EN

अध्यक्षको कलमबाट

पछिल्लो अद्यावधिक

काभ्रेको लागि केही गरौं भन्ने मूल अभिप्रायले वि.सं. २०६९ सालमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा
श्री काभ्रे सेवा समाज, काभ्रे नामक संस्था दर्ता गरी कार्य प्रारम्भ गर्दै आइरहेको कुरा विदित नै छ ।
०७२ को विनाशकारी महाभूकम्पको प्रभावबाट प्रमाणित व्यक्तिहरुलाई मानवीयताको मल्हम लगाउने काम
अन्तर्गत खाद्यान्न सहयोग, नगद सहयोग, अस्थायी सिकाई केन्द्र निर्माण, विद्यालयहरुमा कक्षा कोठा
निर्माण, अस्थायी घर निर्माण, नमोबुद्ध न.पा. अन्तर्गतको वाल उज्जवल मा.वि.मा विद्यालय भवन निर्माण
र हस्तान्तरण लगायतका कार्यहरु यस संस्थाले सम्पन्न गरिसकेको छ । त्यसैगरी काभ्रेलाई प्रदेशको
राजधानी न्यायोचित तर्कका आधारमा घोषणा गरी हरसम्भव प्रयास गर्ने कार्य पनि गरेको थियो । काभ्रे
सेवा समाजले पुर्‍याएका योगदानहरु काभ्रेली गुञ्जनहरुमा छर्लङ्ग छन् ।
जन्म र कर्मले काभ्रे घर भएका सम्पूर्ण काभ्रेलीहरुप्रति सुख समृद्धिको लागि आफ्नो तहबाट केही
गर्न सकौं भनि सबैको हातेमालोबाट यो संस्था अघि बढिरहेको छ र बढिरहने छ । कृषि, पर्यटन र
व्यापारिक क्षेत्रमा काभ्रेको संभावना अब्बल रहेको छ । त्यस्तै धार्मिक र सांस्कृतिक क्षेत्रमा पनि उत्तिकै
अगाडि रहेको काभ्रेपलाञ्चोक उत्तरतिरको छिमेकी मूलुक चीन जोड्ने अरिनको राजमार्ग र दक्षिणतिरको
भारत जोड्ने बी.पी. राजमार्ग यसै जिल्ला भएर जान्छन् तसर्थ हरेक क्षेत्रमा समृद्धिको लागि काभ्रेको
प्रचुर सम्भावना रहेको देखिन्छ ।
काभ्रे सेवा समाजले स्थापना काल देखि नै आफ्ना गतिविधीहरु उजागर गर्न र आर्थिक, सामाजिक,
धार्मिक, सांस्कृतिक शिक्षा, स्वास्थ्य रोजगार, साहित्य आदिका विषयहरु समेटी प्रत्येक वर्ष काभ्रेली
गुञ्जन पनि प्रकाशित गर्दै आएको छ र यो आठौं श्रृखला हो । अन्त्यमा सबैको माया पाएर काभ्रे सेवा
समाज अझै फक्रन र फुल्न चाहन्छ । सबैसँग हातेमालो गर्न चाहन्छ र काभ्रेवासीलाई कुनै न कुनै
रुपमा आत्मीयता जोड्न चाहन्छ ।
जय काभ्रेपलाञ्चोक । जय काभ्रे सेवा समाज
प्रल्हाद के.सी.
अध्यक्ष