–केशव थापा
विषय प्रवेश
भौगोलिक अवस्था
काभ्रेपलाञ्चोक जिल्ला नेपालका मध्यपूर्वी पहाडी भू–भागमा अवस्थित जिल्लाहरूमध्येको एक हो । कुल क्षेत्रफल १३९६ वर्ग कि.मी. रहेको यो जिल्ला ८५० २४’ देखि ८५० ४९’ पूर्व देशान्तर र २७० २०’ देखि २७० ४५’ उत्तरी अक्षांशमा फैलिएको छ । यस जिल्लाको औसत तापक्रम १८० सेल्सियस रहेको हुन्छ । समुद्र सतहदेखि २८० मी. (कोखाजोर खोला) देखि ३१०८ मी. (बेथानचोक नारायण डाँडा) उचाइमा रहेको यो जिल्ला पछिल्लो प्रशासनिक विभाजनअनुसार तेह्र पालिकासहित बागमती प्रदेशमा पर्दछ ।
धरातलीय विविधताको परिणामस्वरूप हावापानीमा पनि धेरथोर विविधता भेटिए तापनि समष्टिमा हेर्दा समशितोष्ण हावापानी भएको यस जिल्लाको पूर्वमा रामेछाप र दोलखा, पश्चिममा ललितपुर, भक्तपुर र काठमाडौँँं, उत्तरमा सिन्धुपलाञ्चोक र दक्षिणमा सिन्धुली र मकवानपुर जिल्लाहरू पर्दछन् । सङ्घीय राजधानी काठमाडौँँबाट यस जिल्लाको प्रवेशद्वार साँगा २१ कि.मी. पूर्वमा पर्र्दछ । जिल्ला सदरमुकाम धुलिखेल ३० कि.मी. को दुरीमा रहेको छ । साना ठुला गरी ४९२ ओटा नदी, खोला तथा झरना रहेको यस जिल्लाको मुख्य नदी र खोलाहरू भने इन्द्रावती, बागमती, सुनकोशी नदी र रोशी, कोखाजोर, खानी खोला हुन् । ठुला तालहरू नभए तापनि ताराखसे पोखरी (शिखर आम्बोटे), नारायण पोखरी (तिमाल), देउपोखरी (चौँरी डुमखर्क), महादेव पोखरी (नगरकोट) यस जिल्लाका ताल तलैया हुन् ।
राजनैतिक एवम् प्रशासनिक विभाजन
जिल्लाको तात्कालीन प्रशासनिक संरचनाअनुसार सुरुमा ९९ गा.वि.स. हरूमा विभाजन गरिएको यस जिल्लामा वि.सं २०७३ फागुन २७ गते अघिसम्म पाँच नगरपालिकाहरू र ७५ गा.वि.स हरू रहेका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान (वि.सं. २०७२) जारी भैसकेपछि भने यस जिल्लालाई १३ ओटा स्थानीय तह (७ गा.पा. र ६ न.पा.) मा विभाजन गरिएको छ । यी स्थानीय तहको कुल वडा सङ्ख्या ८७ रहेका छन् । प्रतिनिधि सभा निर्वाचनको लागि दुई निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनको लागि चार निर्वाचन क्षेत्र तोकिएका छन् ।
राणा शासनको विरुद्धमा वि.सं. १९८८ सुरु भएको पुस्तकालय स्थापनामा काभ्रे अनेकोटका कृष्णप्रसाद खतिवडा (काभ्रेपलाञ्चोक जिल्ला पहिलो स्नातक) को संलग्नता रहेको यस जिल्लाले देशका सबै महत्त्वपूर्ण राजनैतिक परिवर्तनमा सकृय भूमिका निभाउँदै आएको छ । सम्वत् तीसको दशकको प्रारम्भबाट यस जिल्लामा वामपन्थी राजनीति सघनरूपले फैलिएको थियो । वर्तमानमा वाम तथा प्रजातान्त्रिक शक्तिको सशक्त उपस्थिति रहेको छ । तर समग्र देशमा झै नयाँ राजनैतिक शक्तिहरूको उपस्थितिको सम्भावना पनि दरिलो देखिएको छ ।
जनसाङ्ख्यिक अवस्था
सन् २००१ को जनगणना अनुसार काभ्रेपलाञ्चोक जिल्लाको जनसङ्ख्या ३,८५,६७२ रहेको थियो । सन् २०११ मा आइपुग्दा यो सङ्ख्या ३,८१,९३७ र सन् २०२१ को जनगणना अनुसार पछिल्लो जनसङ्ख्या ३,६४,०३९ मात्र रहेको देखिन्छ । कुल जनसङ्ख्यामा ४९.१ प्रतिशत पुरुष र ५०.९ प्रतिशत महिलाको सङ्ख्या रहेको छ । सन् २०११ को तुलनामा सन् २०२१ सम्म आइपुग्दा यस जिल्लाको जनसङ्ख्यामा वृद्धिदर ऋणात्मक ०.४६ प्रतिशत रहेको छ । बनेपा नगरपालिका (१.५ प्रतिशत), पनौती नगरपालिका (०.७७ प्रतिशत) बाहेक अन्य एघारओटा पालिकाहरूको जनसङ्ख्या वृद्धिदर ऋणात्मक रहेको छ । चौँरी देउराली गाउँपालिका (–३.८ प्रतिशत), नमोबुद्ध नगरपालिका (–१.३ प्रतिशत), पाँचखाल नगरपालिका (–१.१ प्रतिशत), खानीखोला गाउँपालिका (–१.६ प्रतिशत), रोशी गाउँपालिका (–१.८ प्रतिशत) र महाभारत गाउँपालिक (–१.२ प्रतिशत) को जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा बढीले ऋणात्मक रहेको छ भने अन्य पालिकाको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतभन्दा कमले ऋणात्मक रहेको देखिन्छ । स्थानीय सरकारमार्फत विकास गाउँ पस्दै गर्दा विकासको प्रतिफल उपभोग गर्नुपर्नेहरू अवसरको प्राप्ति, सुविधाजनक जीवनको अपेक्षा वा अन्य कारणले एकपछि अर्काे गर्दै आफ्नो थातथलो छाडेर अन्यत्र स्थानान्तरण हुनु अति विचारणीय विषय हो ।
मोटामोटीरूपमा ५८ जातजातिहरू रहेको यस जिल्लामा तामाङ (३३.७७ प्रतिशत), ब्राह्मण (२०.१५ प्रतिशत), क्षेत्री (१३.५७ प्रतिशत), नेवार (१३.४१ प्रतिशत), मगर (३.९९ प्रतिशत) र बाँकी अन्य जातजाति रहेका छन् । अनेकतामा एकता र एकतामा अनेकताको अस्तित्त्व स्वीकार काभ्रेपलाञ्चोक जिल्लाले बिर्सन नहुने तथ्य हो । जनसङ्ख्या घट्दो क्रममा रहेको यस जिल्लाको औसत जनघनत्व २६१÷वर्ग कि.मी रहेको छ ।
आर्थिक क्रियाकलापमा संलग्नता
१५ देखि ६४ वर्ष उमेर समूहलाई आर्थिकरूपले सक्रिय जनसङ्ख्या माने तापनि जनगणनाको परिणामअनुसार यस जिल्लामा १० वर्ष वा सोभन्दा बढी उमेरका २,२३,३५६ व्यक्तिले गरेको कामलाई नेपालस्तरीय पेसागतमा वर्गीकरण गरेको छ । कुल जनसङ्ख्यासँग तुलना गर्दा यो प्रतिशत ६१.३५ हुन आउँछ । आर्थिक काममा संलग्न श्रमशक्तिमध्ये कृषि, वन, र माछापालनमा (६५.०२ प्रतिशत), थोक एवम् खुद्रा व्यवापार, मोटरगाडी तथा मोटरसाइकल मर्मत कार्यमा (९.३० प्रतिशत), निर्माणमा (४.८१ प्रतिशत), औद्योगिक उत्पादनमा (३.१८ प्रतिशत), शिक्षामा (२.९४ प्रतिशत), सार्वजनिक प्रशासन तथा सुरक्षासम्बन्धी क्रियाकलापमा (३.० प्रतिशत), वित्त तथा बिमासम्बन्धी क्रियाकलापमा (१.५२ प्रतिशत), आवास तथा भोजनसम्बन्धी क्रियाकलापमा (१.६५ प्रतिशत) संलग्नता रहेको छ भने अन्य कामको क्षेत्रमा नगण्य प्रतिशतमा काभ्रेपलाञ्चोकबासीको संलग्नता रहेको देखिन्छ । उद्योगधन्दा, व्यापार र नोकरी जीवन निर्वाहको पूर्ण आधार नभएर सहायक पेसाको रूपमा रहेको देखिन्छ । सहर बजारका नेवार जाति व्यापारको काममा संलग्न छन् । खेतीको सहायकको रूपमा पशुपालन व्यवसाय रहेको छ । नदीका छेउछाउका बस्ने दनुवार, माझी, पोडे र पहरीहरूले पहिले पहिले माछा मार्ने काम गरे तापनि नदीनालाको बढ्दो प्रदूषण, घट्दो पानीको सतह, ढुङ्गा उत्खनन आदि कारणले गर्दा यो काम अहिले ठप्प जस्तै भैसकेको छ ।
तत्कालका लागि काभ्रेको संवृद्धिका लागि पहिलो प्राथमिकतामा राखिनुपर्ने क्षेत्र कृषि र पशुपालन नै हो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण, विविधीकरण र प्रविधीकरणलाई उच्च प्राथमिकतामा राख्दै कृषिलाई मर्यादित र सम्मानित पेसा बनाउनेतर्फ सम्बन्धितले जान्नुपर्ने देखिन्छ । धार्मिक, मनोरञ्जनात्मक र पर्यावरणीय पर्यटन पनि काभ्रेको उदयीमान क्षेत्र हो भन्न सकिन्छ । उचित शिक्षा, तालिम र प्रोत्साहनको माध्यमबाट काभ्रेलीहरूलाई रोजगार सम्भाव्य अन्य क्षेत्रतर्फ आकर्षित गर्न पनि सरोकारवालाको ध्यान जानु मनासिव हुने देखिन्छ । आर्थिकरूपले सक्रिय जनसङ्ख्या आर्थिकरूपले निष्क्रिय बन्नुपूर्व यसको अत्युत्तम सदुपयोग काभ्रेपलाञ्चोक जिल्लाले उच्च प्राथमिकतामा राख्नुपर्ने विषय हो ।
साक्षरता स्थिति
काभ्रेपलाञ्चोक जिल्लाको साक्षरता प्रतिशत ७५.६८ रहेको छ । यस जिल्लामा पुरुषको साक्षरता प्रतिशत ८४.१४ र महिलाको साक्षरता प्रतिशत ६७.६० रहेको तथ्याङ्कले देखाउँछ । शिक्षातर्फ भने कुल साक्षर सङ्ख्याको ४८.५ ले स्नातक वा सोसरह, १.६१ प्रतिशतले स्नातकोत्तर वा सोसरह वा सोभन्दा माथिको शिक्षा हासिल गरेका छन् । तापनि रोजागारोन्मुख शिक्षा, तालिमको अभावमा यो जनसङ्ख्याले शिक्षाबाट अधिकतम लाभ उठाउन सकेको देखिँदैन । शैक्षिक प्रमाणपत्र रोजगारीको साधक नबनेर बाधक बन्दै गएको छ । काठमाडौँ उपत्यकाको निकटमा रहेको नाम चलेको विश्वविद्यालय लगायतका थुप्रै शैक्षिक संस्थाहरूको केन्द्र बन्दै गएको काभ्रेपलाञ्चोक जिल्लामा अझै पनि २४ प्रतिशत काभ्रेलीहरू निरक्षर रहनुलाई सुखद् मान्न सकिदैन ।
जिल्लामा वि.सं. २०८० सम्ममा ४९० बालविकास केन्द्र, ३६९ सामुदायिक आधारभूत विद्यालय, १४९ सामुदायिक माध्यमिक विद्यालय, संस्थागत आधारभूत विद्यालय २६, संस्थागत माध्यमिक विद्यालय ७६, सामुदायिक क्याम्पस १६ र निजी क्याम्पस ३ रहेका छन् ।
सामुदायिक विद्यालयमा कक्षा १२ सम्म गरी ५२,८५४ विद्यार्थी अध्ययन गर्दछन् भने संस्थागत विद्यालयमा ३३,६१३ विद्यार्थी अध्ययनरत रहेको तथ्याङ्कले देखाउँछ । यस जिल्लामा विद्यार्थी खुद भर्नादर ९० प्रतिशतभन्दा माथि रहेको रहेको छ भने कक्षा छाड्ने दर २ प्रतिशत रहेको रहेको भने शिक्षक विद्यार्थी अनुपात कक्षा १ देखि पाँचसम्म १÷१२, कक्षा ६ देखि ८ सम्म १÷३ र कक्षा ९ देखि १० सम्म १÷६ रहेको छ । यी तथ्याङ्कले काभ्रेपलाञ्चोक जिल्लाको शिक्षाको सम्बन्धमा गहन चिन्तन, मनन गर्नुपर्ने तथ्यलाई औँल्याएको देखिन्छ ।
धर्म, संस्कृति, भाषा
भाषागत संरचनालाई हेर्दा जिल्लामा नेपाली बोल्ने जनसङ्ख्या पहिलो स्थान र तामाङ् भाषा बोल्ने जनसङ्ख्या दोस्रो स्थानमा रहेको देखिन्छ । धार्मिक संप्रदायहरूमा हिन्दु धर्म मान्नेहरू अग्रस्थानमा छन् । त्यसपछि बौद्ध धर्म मान्नेहरूको सङ्ख्या आउँछ । मिसन अस्पतालको लामो समयदेखिको उपस्थिति तथा पछिल्ला दिनमा धर्म परिवर्तनको बढ्दो प्रवृत्तिले गर्दा इसाई धर्मालम्बीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको देखिन्छ । आफ्नो आस्थाअनुसार धर्म मान्न पाउँनु व्यक्तिको अधिकार भए तापनि नेपथ्य उक्साहटमा हुने धर्म परिवर्तनले भविष्यमा भयावह समस्या ल्याउन सक्ने तथ्यमा भने होसियार हुनुपर्दछ ।
काभ्रे जिल्लाका सर्वसाधारण जनता दसैँ तिहारदेखि वर्षभरि आउने सबै किसिमका चाडपर्व (साउने सङक्रान्ति, तिज, ऋषि तर्पणी, जनैपूर्णिमा आदि पर्वहरू) आफ्नो गच्छेअनुसार हर्षाेल्लासका साथ मनाउँछन् । नेवारहरूको गुठी हुन्छ र उनीहरू सिठीपर्व जस्ता चाडपर्व मनाउँछन् । लामा अनुयायी वा बौद्धधर्मी तामाङहरूले गाउँ÷बस्तीमा ध्याङका वरिपरि ल्होसार जस्ता पर्व सम्पन्न गर्दछन् । सर्वसाधारणले मनाउने चाडपर्वले जाती विशेषको पहिचान दिने सामाजिक रूप ग्रहण गरी सकेको छ ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक विशेषताले भरिपूर्ण जिल्लाको उपमा पाएको काभ्रेपलाञ्चोक जिल्ला कला, संस्कृतिमा अग्रणी जिल्लामध्येको एक हो । बनेपाको नौतले दरबारको नमुनाअनुसार बनेपाका शिल्पीहरूले निर्माण गरिएको नौतले घर चिनमा अद्यावधि छ भनिन्छ । यसै आधारमा कोही ललितकलाका अद्वितीय व्यक्तित्व अरनिको बल्यो (बनेपा) का राजवंशी हुन भने राय व्यक्त गर्दछन्, कोही कलाकार अरनिको खोपासीका पहरी हुन पनि भन्दछन् । यस सम्बन्धमा गहन अनुसन्धानको आवश्यकता देखिन्छ । बनेपा, पनौती, धुलिखेल, पलाञ्चोक, नमोबुद्धस्थित मठ, मन्दिर, गुम्बा तथा दरबारहरू परम्परागत कला, कौशलका उत्कृष्ट नमुना हुन । यीमध्ये कतिपय सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियाको थालनी भैसकेकोले यसलाई निष्कर्षमा पु¥याउने र पुर्खाले विरासतमा छाडेर गएका सम्पदालाई जोगाएर राख्ने सवालमा जिम्मेवारपूर्ण तवरले सक्रिय हुनुपर्ने देखिन्छ ।
साहित्य
थुप्र्रै काभ्रेली साहित्यिक प्रतिभाहरूले काव्यात्मक भुल्का फुटाउँदै आफ्ना कृतिकुसुम सुम्पेर नेपाली साहित्य श्रीवृद्धिमा योगदान गरेका थिए । केही प्रतिभा अझैपनि यस उपक्रममा दत्तचित्त छन् र भावी दिनमा पनि यो क्रम नरोकिने निश्चित नै छ । लिच्छिवि÷मल्लकालमा काभ्रेली माटोमा टुसाएको साहित्यको बेर्ना वसन्त शर्मा (भेटिएकामध्येका सबैभन्दा पहिलो काभ्रेली कवि), श्यामदिलमाई पौडेल, हरिप्रसाद नेपाल, नरबहादुर भारती (साहित्यका अतिरिक्त सङ्गीतका साधक, आयुर्वेद तथा रसायन विषयका ज्ञाता), गङ्गादत्त थपलिया, गुरूप्रसाद मैनाली (नेपाली कथाजगत्का अग्रणी शिखर पुरुष), राजदास बादे, प्रेमनाथ सत्याल, आशाकाजी सेवक, कृष्णप्रसाद पराजुली (नेपाली भाषा, साहित्य, भाषा विज्ञान, लोकसाहित्य जस्ता विधामा बेजोडले कलम दौडाउने प्रतिभाशाली सर्जक), जनक हुमागाई, किरण खरेल (नेपाली गीतिक्षेत्रका प्रसिद्ध र लोकप्रिय प्रतिभा), श्यामसुन्द सैँजु, वंशी श्रेष्ठ, रमेश खकुरेल, यादव खरेल, शिवप्रसाद सत्याल पीठ, गोेपालराज मैनाली, कन्हैया नास्नानी, केदारनाथ प्रधान (काभ्रे बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख, इतिहास, संस्कृति तथा साहित्यका अथक साधक), ज्ञानकाजी मानन्धर, मोहन दुवाल, हरि अधिकारी, ध्रुव सापकोटा, भारती खरेल, हरिवंश आचार्य, हरिमञ्जुश्री (जन्मभूमि भोजपुर भए तापनि दशकौँदेखि काभ्रेको माटोमा रमाई साहित्य सिर्जना र सम्पादनमा तल्लिन व्यक्तित्व), गीता त्रिपाठी, फूलमान वन, प्रा. डा. सुमन ताम्रकार, सूर्य लाकोजु, विजय सापकोटा साहित्यक कर्ममा तपस्यारत व्यक्तित्व हुन । स्थानाभावले केही व्यक्तित्वको नाममात्र यहाँ उल्लेख भए तापनि अन्य थुप्रै काभ्रेली सर्जकहरू स्वान्त सुखाय भावका साथ अविचलितरूपले साहित्य साधनमा तपस्यारत हुनुहुन्छ । यति चर्चा गर्नुको आसय काभ्रेपलाञ्चोक जिल्ला शिक्षा, साहित्य, कला, संस्कृति, प्रशासनको क्षेत्रमा कर्मरत प्रतिभाहरूको खानी भएकोले काभ्रेका स्थानीय सरकारले आआफ्नो भूगोलमा जन्मी राष्ट्रियस्तरमा चर्चित प्रतिभाहरूको यथोचित सम्मान गर्ने र समयसमयमा काभ्रेपलाञ्चोक जिल्ला वा आआफ्नो पालिकामा साहित्यिक मेला तथा जमघटको आयोजना गर्ने कामलाई प्राथमिकतमा राख्दा राम्रो हुन्थ्यो भनी स्मरण गराउनु हो ।
रोजगार स्थिति
पछिल्लो जनगणनाको तथ्याङ्कअनुसार आर्थिकरूपले सक्रिय जनसङ्ख्यामध्ये ५४.४४ प्रतिशत छ महिना वा सोभन्दा बढी, १७.११ प्रतिशत छ महिनाभन्दा कम रोजगारमा संलग्न रहन्छन् र २८.४५ प्रतिशत काभ्रेली पूर्णरूपले बेरोजगार छन् । अर्ध तथा पूर्ण बेरोजगारीको चपेटाको कारण ३० प्रतिशतभन्दा पनि बढी काभ्रेपलाञ्चोकबासी निरपेक्ष गरिबीको रेखामुनिको जीवन बाँच्न विवश छन् । तसर्थ, बेरोजगारी काभ्रेपलाञ्चोक जिल्लाको अर्काे डरलाग्दो समस्या हो । यसलाई समयमा नै योजनाबद्ध तवरले निराकरण गर्नेतर्फ आवश्यक पहल नगर्ने हो भने भोकोपेटले ल्याउने परिणाम भयावह हुन सक्ने देखिन्छ ।
बसाइँसराइ एवम् वैदेशिक रोजगार
उपलब्ध तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोक जिल्लाका ९१,४२८ घर सङ्ख्यामध्ये २६,५८३ (२९.०८ प्रतिशत) घर सङ्ख्या देशभित्र र १५,०९६ (१६.५२ प्रतिशत) देशबाहिर विदेशमा बसाइँ सरेका छन् । कुल जनसङ्ख्या ३,६४,०३९ मध्ये ९५,६२४ देशभित्र र १९, ८५४ विभिन्न प्रयोजनले विदेश गएका छन् । विदेश जानेमा गाउँपालिकाका सर्वसाधरणभन्दा पनि नगरपालिकाका सर्वसाधरण अगाडि देखिन्छन् । जस्तो कि बनेपा नगरपालिक (३५२८), पनौती नगरपालिक (२७४४), पाँचखाल नगरपालिक (१८८६) र धुखिलेख (१८६३) नगरपालिका अग्रस्थानमा देखिन्छन् । शिक्षा, रोजगारी लगायत सहज जीवनको पर्याप्त गुञ्जायस भएको नगरपालिकाबाट मानिस विदेश पलायन हुने क्रम बढी भएको तथ्यलाई अलि गम्भीरतापूर्वक अध्ययन विश्लेषण गर्नुपर्ने देखिन्छ । यसै गरी विवाह गरेर तथा कामको खोजीमा काभ्रेपलाञ्चोक जिल्लामा बसाइँ सरी आउने जनसङ्ख्या १,०७,०१६ रहेको छ । यसरी आउने जनसङ्ख्याको आकर्षण बनेपा नगरपालिका(३१,८६८), पनौती नगरपालिका (१८,१९६), धुलिखेल नगरपालिका (१३,५७९), पाँचखाल नगरपालिका (१०,४६१) जस्ता नगरपालिकामा नै बढी देखिन्छ ।
प्रमुख समस्याहरू
- काभ्रेका १३ ओटा पालिक र तिनीहरूका ८७ ओटा वडाका अलगअलग विशेष प्रकृतिका समस्याहरू भए तापनि समग्रमा काभ्रेपलाञ्चोक जिल्लाको मुख्य समस्याहरू निम्न हुन भन्न सकिन्छ ः
- आर्थिकरूपले सक्रिय र परिवर्तनका वाहक एवम् नेपालका भावी सम्भावना बनेका युवाहरूको बढ्दो विदेश पलायन
- धार्मिक, सांस्कृतिक तथा जातिगत विविधता÷अनेकताकाबिच आपसी मेल, समन्वय र एकतामा राख्ने प्रभावकारी संयन्त्रको अभाव
- काभ्रेको धार्मिक÷सांस्कृतिक ÷ऐतिहासिक सम्पदा र धरोहरको संरक्षण र धार्मिक पर्यटनको प्रवर्धन हुन नसक्नु
- कृषियोग्य भूमि दिनानुदिन अनुत्पादक क्षेत्रमा प्रयोग हुँदै जानु,
- जनसङ्ख्याको वृद्धिदर ऋणात्मक हुनु
- पर्याप्त सम्भावना र गर्विलो इतिहास हुँदाहुँदै पनि काभ्रेलाई शिक्षा, साहित्य र संस्कृतिको महत्त्वपूर्ण केन्द्रको रूपमा स्थापित गर्न नसक्नु
- घरेलु हिंसा, सम्बन्ध विच्छेद, पारिवारिक विग्रह र आत्महत्या दर अस्वभाविकरूपले बढ्नु
- सार्वजनिक जग्गा÷सम्पत्तिको जर्गेना नहुनु
- कृषि, पशुपालन, दुग्ध व्यवसाय र बढ्दो सहकारी सङ्ख्या काभ्रेका विशेषता भएर पनि तिनीहरूको अभिवृद्धि गुणात्मक विकास र नियमनमा अपेक्षित प्रगति नहुनु, कृषि प्रणालीको वैज्ञानिकीकरण र व्यवसायीकरण नहुनु
- कतिपय पालिकाहरूमा सडक यातायात लगायत भौतिक पूर्वाधारको अभाव हुनु, अझै पनि जिल्लाको दुईओटा पालिका केन्द्र र धेरै वडा केन्द्रहरूमा पक्की सडक सुविधा उपलब्ध नहुनु
- सुख्खा क्षेत्र (कोशीपारी, तेमाल, पलाञ्चोक, दाप्चा ) र सहरी क्षेत्रका बनेपा, पनौती र धुलिखेलमा समेत पर्याप्त स्वच्छ पिउने पानीको अभाव हुनु,
- शुलभ शुल्कमा गुणस्तरीय स्वास्थ सेवा र उच्च शिक्षा उपलब्ध नहुनु
- राजनीतिक दलहरूबिच स्वस्थ र रचनात्मक प्रतिस्पर्धा गर्दै काभ्रेपलाञ्चोक जिल्ला र काभ्रेवासीको हितको लागि समन्वय र सहकार्य गर्ने प्रवृत्तिको विकास नहुनु
- उपलब्ध प्राकृतिक स्रोत (ढुङ्गा, गिट्टी, वालुवा, जडिबुटी आदि) को आदर्शतम उपयोग हुन नसक्नु र सीमित नाफाखोरहरूको हालिमुहाली रहनु
- कतिपय राजनीतिक दलका नेता, कार्यकर्ता तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूमा सदाचार र सुशासनको अभाव देखिनु
- कुल जनसङ्ख्याको आधाभन्दा बढी हिस्सा ओगटेको महिला शक्तिलाई सङ्गठित, समक्ष र सशक्त तुल्याउँदै आर्थिक, सामाजिक, राजनीतिक लगायतका नीति निर्माणको क्षेत्रमा उल्लेख्य तवरले सहभागी तुल्याउन नसक्नु
- अव्यवस्थित रूपले सञ्चालित खानी र प्राविधिकको राय÷परामर्श÷निगरानी विना भावावेगमा गरिने डोजरे विकासले पर्यावरणीय सन्तुलनमा नकरात्मक प्रभाव पार्नु
- खानी कि पानी भन्ने विवादको तर्कसङ्गत निराकरण हुन नसक्नु
- अझै पनि करीब ३० प्रतिशत जनसङ्ख्या निरपेक्ष गरिबीको रेखामुनि र एक चौथाइ जनसङ्ख्या निरक्षर रहनु
- काभ्रेपलाञ्चोक जिल्लाको संवृद्धिको साधन र साध्य काभ्रेली भएको तथ्यमा सम्बन्धितहरूको पर्याप्त ध्यान नजानु, आदि ।
- उल्लिखित समस्याका आधारभूत कारणहरू पहिचान गरी स्थानीय तहको सक्रियतामा प्रदेश एवम् सङ्घीय सरकारको सहयोगमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना र सोेचको साथ कार्य अघि बढाएको खण्डमा समस्याहरू क्रमशः समाधान भई काभ्रेपलाञ्चोक जिल्लाको बसोबासको गन्तव्य बन्ने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
जिल्लाका सम्भावनाहरू
काभ्रेपलाञ्चोक जिल्लाको अवस्थिति र समयक्रममा यसले हासिल गरेको उपलब्धिको आधारमा यस जिल्लाको सम्भावना÷विशेषताहरूलाई देहायानुरूप उल्लेख गर्न सकिन्छ ः
- सङ्घीय राजधानी काठमाडौँँंबाट अत्यन्त निकट
- बागमती प्रदेश अन्र्तगतका १३ ओटा जिल्लाहरूलाई पायक पर्ने गरी करिब करिब बिच भागमा अवस्थित
- खनिज प्रसाधन (तामा, फलाम, अभ्रक, गन्धक, ग्राफाइट, सिसा आदि) को प्रचुर सम्भावना,
- अनेकता तथा विविधता बिचको एकता
- धार्मिक÷सांस्कृतिक÷मनोरञ्जनात्मक÷पर्यावरणीय ÷शैक्षिक पर्यटनको आकर्षक गन्तव्य
- साहित्य÷कला÷संस्कृतिको उर्वर थलो
- समथर र उब्जिलो जग्गा, जमिन
- लिच्छिवि तथा मल्लकालमा सभ्यता÷संवृद्धिको उपल्लो तहमा पुगेको गर्विलो इतिहास
- राजकुमार महासत्व (नमोबुद्ध)को जन्म र परिनिर्वाण स्थल
- शिक्षाको प्रसिद्ध केन्द्रको रूपका विकास हुँदै गरेको
- जात्रा, मेला, पर्व र मन्दिरै मन्दिरले भरिएको सहर भएको जिल्ला
- कलाकौशल र कालिगढमा अब्बल जिल्ला
- लप्सी, बुद्धचित्त, आलु, सुन्तला लगायतका फलफूलका लागि प्रसिद्ध
- नेपालको तेस्रो पुरानो पनौती जलविद्युत् आयोजना, २०२४ को अवस्थिति
- काठमाडौँ विश्वविद्यालय लगायत प्रतिष्ठित शैक्षिक÷प्राज्ञिक संस्थाहरूको उपस्थितिले शैक्षिक हब बन्ने सम्भावना,
- प्राकृतिक स्रोतसाधन र जैविक एवम् पर्यावरणीय विविधायुक्त महाभारत पर्वत शृङ्खलाको अवस्थिति,
- आर्थिकरूपले सक्रिय उच्च जनसङ्ख्या, ।
उपसंहार
काभ्रेपलाञ्चोक जिल्ला काठमाडौँँ उपत्यकासरह धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक विशेषता र विरासत बोकेको जिल्ला हो । कपिलवस्तु, लुम्बिनिमा गौतम बुद्ध जन्मनुभन्दा करिब पैँतिस÷छत्तिस सय वर्ष अघि महाराज महासत्व (नमोबुद्ध) को जन्म र परिनिर्वाण भएको पुण्यभूमि, प्रत्येक बाह्रवर्षको माघमा एक महिना पनौती त्रिवेणी धाम (जसलाई उत्तरप्रयाग, शची तीर्थ आदि नामले पनि जानिन्छ) मा लाग्ने मकरमेला आदिले काभ्रेलाई धार्मिकरूपमा विशिष्ठ जिल्लाको रूपमा परिचित गराएको छ । यसै आधारमा बागमती प्रदेश सरकारले काभ्रेका उल्लिखित विशेषता भएका स्थानलाई विशेष धार्मिक÷सांस्कृतिक क्षेत्र घोषणा गरेर तिनीहरूको संरक्षण, संवर्धन र प्रचारप्रसार गर्ने काभ्रेपलाञ्चोक जिल्लालाई बागमती प्रदेशको धार्मिक, सांस्कृतिक, पर्यावरणीय र शैक्षिक पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास गर्नुपर्दछ ।
काभ्रेपलाञ्चोक जिल्लाका डाँडापारी र कोशीपारीका पालिकाहरूमा अद्यावधि यातायातको सहज पहुँच नभएकोले त्यसतर्पm पनि सरोकारवालाको छिटो ध्यान जानु अत्यावश्यक देखिन्छ । सडक यातायातलाई आवागमनसँग मात्र नभएर उत्पादन क्रियाकलापसँग जोडी यातायातलाई आर्थिक संवृद्धिको महत्त्वपूर्ण अवयवको रूपमा विकास गरिनुपर्दछ । अरनिको राजमार्गको धुलिखेल पाँचखाल खण्डको अविलम्ब मर्मत सम्भारको काम सम्पन्न, काभ्रेमा स्थापित सेक्युरिटी प्रेसको यथाशीघ्र सञ्चालन, खोपासीस्थित रेशम खेतीलाई अत्याधुनिक तवरले पूर्ण क्षमताका साथ सञ्चालन, हरेक वर्ष डुबानको समस्याबाट पीडित बनेपा सहरको सम्बन्धमा उच्च दक्ष विशेषज्ञहरूको राय परामर्श अनुसारको उपयुक्त उपाय अवलम्बन गरी यो समस्याबाट मुक्त गर्ने प्रबन्ध, खाद्यान्नबालीका अतिरिक्त नगदेबाली (आलु, तरकारी खेती, सुन्तला लगायत फलफूल) र पशुपालन एवम् दूग्ध व्यवसायका लागि अग्रणी जिल्ला भएकोले यी विषयलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणको माध्यमबाट सम्मानित पेसा बनाई रोजगारीको आकर्षक केन्द्र बनाउने र सुशासनको पालनामा शून्यसहनशीलताको नीति पहल गर्नेतर्फ आवश्यक पहल गर्दै तथ्य र तथ्याङ्कले दर्शाएअनुसार आवश्यकताको प्राथमिकीकरण गर्दै समन्यायिक ढङ्गले विकास कार्य अघि बढाउँदै जानसकेको खण्डमा स्थायित्वसहितको संवृद्ध काभ्रेपलाञ्चोक जिल्लाको सपना साकार भई मर्यादित बसोबासको गन्तव्यकोे बन्न सक्ने तथ्यमा विश्वस्त हुन सकिन्छ ।
सन्दर्भ सामग्री ः
१. जिल्ला वस्तुगत विवरण, २०८० काभ्रेपलाञ्चोक
२. काभ्रे प्रज्ञा
३. पूर्व एक नम्बर
४.काभे्रली गुञ्जनका विभिन्न अङ्कहरू
५.चेष्टा÷काभ्रे टाइम्स साप्ताहिकका विभिन्न अङ्कहरू
६.काभ्रेपलाञ्चोक जिल्लामा क्रियाशील राजनीतिक दलहरूको प्रकाशन ।