– तुयुकाजी ताम्राकार
जयस्थिति मल्ल नेपालको अत्यन्त प्रतापी र प्रभावशाली राजा थिए । उनले सामाजिक, धार्मिक, सांस्कृतिक, न्यायिक र आर्थिक सुधार गरी राज्यमा शान्ति, सुव्यवस्था कायम गरी नेपालको इतिहासमा महत्वपूर्ण स्थान ओगटेका छन् । राम्रो कामका निम्ति राजाकै छोरा हुनपर्छ भन्ने छैन । किनकि जयस्थिति मल्ल नेपालको कुनै मल्ल राजाका सन्तान थिएनन् । सिम्रौनगढका राजा हरिसिंहदेवले बङ्गालका नवाब समसुद्दिनको आक्रमणलाई थेग्न नसक्दा भागेर आई नेपालका राजदरबारमा शरण लिइ बसेका थिए । उनका छोरा जगतसिंह र राजा रुद्रमल्लकी छोरी नायक देवीको तर्फबाट जन्मेकी छोरी थिइन राजल्लक्ष्मी । आफ्नो छारोतर्फबाट जन्मेकी सन्तान अर्थात् नातिनीको रेखदेख गरी हुर्काएकी थिइन हजुरआमा देवलदेवीले । उनै देवलदेवी बाहिर देश अर्थात् भारततिरका एक राम्रा केटा जयस्थिती मल्ल झिकाएर राजल्लदेवीसित विवाह गरिदिएकी थिइन् । राजदरबारको ज्वाइँको हैसियतले गर्दा जयस्थिति मल्लले शासन सत्तामा कृयाशील हुने मौक पाएका थिए ।
सन् १३७२ सम्ममा जयस्थिति मल्ल काठमाडौका महासामन्त भइसकेका थिए । त्यस समयमा दरबारमा जयस्थिति मल्ललाई समर्थन गर्ने जयत गुलामी र जयसिंहराम भन्ने दुई गुट थिए । राज दरबारमा जयस्थिति मल्ललाई चलखेल गर्न साथ र सहयोग पु¥याउने सासु हजुरआमा देवलदेवीको सन् १३६६ मा मृत्यु भएपछि सन् १३७२ मा जयसिंहरामको नेतृत्वमा विद्रोहको योजना बनेको कुरा थाहा पाएर जयस्थिति मल्लले उनलाई पक्रेर कैद गरे तर पनि जयसिंहराम समर्थक भारदारहरू र जयस्थिति मल्लको ठिमीमा युद्ध नै भयो । ५१ जना विद्रोहीहरूको ज्यान गयो । त्यस युद्धमा विजयी भएपछि जयस्थिति मल्लले राजा पछिको शासक उपराजको रूपमा सम्बोधन गर्न थाले । कैदमा परेका जयसिंहरामले त्यो वर्षको श्रावण महिनामा जयस्थिति मल्ललाई समर्थन गर्ने सर्तमा कैदबाट छुटेका थिए । तर पनि शासन सत्तामा हालीमुहाली गरी जायज नाजायज धन कमाई थुपार्ने, मान्छेहरूलाई कजाउने र राजसत्तामा चलखेल गर्न बानी परिसकेका भारदारहरूको मन कहाँ शान्त हुन्थ्यो र ? दुइवर्ष पछि नै सन् १३७४ मा फर्पिङ र अन्य क्षेत्रका भारदार र अरुहरूलाई मिलाएर जयसिंहरामले पाटनमा फेरि विद्रोह गर्न थाले । त्यस विद्रोहलाई पनि जयस्थिति मल्लले दबाउन सफल भए । जयसिंहराम र अन्य भारदारहरू प्रकाउ परे । त्यसपछि भने जयस्थिति मल्ल र जयसिंहरामवीच शक्ति र पदको बाँडफाट गरी एक सम्झौता गरि मेलमिलाप गरे । जयसिहंरामलाई कान्तिपुर र बनेपा क्षेत्रको सामन्तमा नियुक्त भए । सबैतिर सबैलाई दबाएर शान्ति स्थापना गरेपछि राजा अर्जुन मल्ललाईसमेत सन १३८० मा गद्दीबाट हटाई बनेपा पठाएका थिए । तर २२ दिनपछि नै भक्तपुर फर्केकाले पक्रेर कैद गरे । सन् १३८१ मा कैद अवस्थामै राजाको निधन भएकाले ने.स. ५०२ अर्थात् १३८२ सम्ममा जयस्थिति मल्ल आफैँ नेपालको शक्तिशाली राजा बनेका थिए ।
तेह्रौँ र चौधौँ सताब्दीको करिब १०० वर्ष जति नेपालको शासन सत्तामा रामवर्धन खान्दानले रजगज गरेको पाइन्छ । तिनीहरूमा महाथ अनकेराम, महाथ जयसिंहराम, महाथ ज्योतीराम, तथा शक्तिसिंहराम र मदन रामबल्देवकोे नाम उल्लेखनीय छन् । तिनीहरूमध्ये यस आलेखमा जयसिंहराम वर्धनबारे उल्लेख गरिन्छ । सन् १३७४ मा जयस्थिति मल्ल र जयसिंहरामबिच शक्ति र स्थानको बाँडफाडको सम्झौता भए पछि नेपालमा शान्ति उन्नति र सुधारका कामहरू दु्रतगतिले भएको पाइन्छ । सन् १३५० मा बङ्गालका नवाब समुसुद्दिनकोे नेतृत्वको ठुलो मुसलमानी फौजले काठमाडौँ, भक्तपुर, बोडे लगायतको ठाउँमा लुटपाट चच्चाई घर मठमन्दिरमा आगो लगाइ ध्वस्त पारेको थिए । पशुपति मन्दिर भत्काउनेको साथै मूर्ति फुटाएका थिए । ती बिग्रिएका भत्किएका र अनेक सुधारका काम गर्न जयस्थिति मल्लसित सम्झौता पछि उनलाइ अझ शसक्त र शक्तिवान बन्न प्रेरणा र सहयोग जयसिंहरामले गरेका थिए । उदाहरणका निम्ति अर्जुन मल्लको मृत्यु पछि जयस्थिति मल्ललाई राज्यभिषेक गरेको पशुपतिको हालको शिव लिङ्ग स्थापना एवम् जिर्णोद्वारको काम जयसिंहरामले गरेका थिए ।
जयसिंहरामको बसोबास गर्ने दरबार पनौतीको लायकु दरबार नै हुन्थ्यो । पनौती प्राचीन कालदेखि धार्मिक तीर्थस्थान भएकाले त्यो नै अत्यन्त पवित्र र शान्ति स्थल थियो । जीवनको उत्तरार्धमा पुगेपछि जयसिंहरामको मनमा जीवन भनेको के रहेछ, कत्र्तव्य के रहेछ, धन सम्पतिको महत्व के हो, दानधर्म प्राप्य के हो कसरि प्राप्त हुन्छ इत्यादि बारे विचार मन्थन आउन थालेछ । हिजो सुन, चाँदी कमाउन के के मात्र गरिएन । जायज नाजायज कामहरू गरी आज कोषभरी सुन राखिएको छ । मेरो मृत्यु पछि त्यो सुनको मेरो लागि के उपादेयता हुने भो र ? यस्ता अनेकौँ चिन्तनहरू मनमा उठिरह्यो । हिजो राजनीतिमा लाग्दा शक्ति र ओहोदा प्राप्त गर्न अनेकौँ षडयन्त्र, अन्याय, हिंसा, हत्या गर्ने कामहरू गरिए । आज शरीर अशक्त हुँदै जाँदा, कस्लाई ती पाप र अपराधका कुराहरू सुनाउने या प्रायश्चित गर्ने यस्तै यस्तै कुराहरू मनमा सोच्दा सोच्दै अब आफूसित भएका सुन दान गर्ने, मन्दिर बनाई नारायणको मूर्ति स्थापना गर्ने, इन्द्रेश्वर महादेवको लिङ्गलाई सुनको खोलले छोप्ने इत्यादि इच्छा जाग्रित हुनपुग्यो । दान, पुण्य र धर्मको उनको इच्छा पूरा गर्न कमशः कार्यान्वयनतर्फ पनि लागि उनकै इच्छाअनुसार सुनकै पत्रमा उनले गरेका दसपुण्य र धर्म एवम् कामहरू बारे सङ्क्षिप्तमा वर्णन गरिएको स्वर्णपत्र लेखाएका थिए । संस्कृत र केही नेवारी भाषामा उल्लेखित पत्रका अनुवाद निम्न अुनसार रहेका छन् ः
ॐ ॐ पुरान ऊँ र नौलो ॐ नमस्कार छ श्रीगोपी नारायण (वंशी गोपाल) लाई । स्वस्ति भलो छ । यो पनौती राम्रो छ र नेपाल मण्डलमा प्रख्यात छ । जहाँ भगवान देव श्रीमान इन्द्रेश्वर शिव बसेका छन् । यसै पनौतीमा थिय जयसिंह राजा प्रख्यात भूमण्डलमा श्रीमान श्री भगवान शिव पशुपतीनाथको जसले प्रतिष्ठा गरे । जसले नै जयार्जुन राजाको पुष्पाभिषेक गरे । जसले ती स्थितिराज मल्ल (जयस्थिति मल्ल) राजाको पद्माभिषेक गरे । जसले तुलानारायणको मूर्ति निर्माण गरेर इन्द्रेश्वरमा विधिवत् स्थापना गरी तिनैका अगाडि शिलातुला खम्बा खडा गरेर आफ्ना देहतुल्य सुन तौलेर दान दिये सूर्यग्रहणमा । फेरी पनि त सुनको घोडा सहित रथ तथा सुनैको हात्ती र राम्रो सुनेको कल्पवृक्ष बनाएर विप्र विद्वानलाई महान दान दिए । अठार पर्वका पुण्य शास्त्र महाभारत राम्ररी लेखाएर विद्वान् धैर्यशाली राजा जयसिंहराम यसै महाभारतका अरण्यपर्वको कथा सुनेर स्वर्ग गए । नेपाल संवत् ५२१ कार्तिक शुल्क चतुर्दशी सोमवार अश्विनी नक्षत्र तथा सूर्य व्यतीयात योगमा बसेमा राजा १ मन्त्रि २ मित्रराष्ट्र ३ कोशा ४ राष्ट्र ५ दुर्गे ६ सेना ७ अङ्को राज्य भाइबन्धु जनतामा राम्ररी राखेर लोकानुग्रह कारक राजा जयसिंहराम दुवैले श्री विष्णु लोक गए । हाइ हाइ हाइ । हे जयशिंहराम राजा ? तिमि विप्रहरू र अनेक प्रकारका प्रार्थीहरू विद्धानहरू तथा षड्दर्शनहरू (गौतमस्य कणादस्य कपिस्य पतञ्जले ः व्यासस्य जैमिने ऋापि दर्शनानि षडेव हि । एवम् जोगी जङ्गम सेवडा सन्न्यासी दर्वेशा छैटौँ दर्शन ब्रहाको जस्मा मीन न भेष । बौद्ध दर्शन समेत) का सबै प्रकारका आशाहरूको पूर्ति गर्र्ने मधुर फल फलेका र सत्कीर्तिरूपी फलफुलका प्रत्यक्ष्य कल्पवृक्ष नै थियौ, तर कष्टको कुरा यो छ कि दैवको बरामा परेर त्यै कल्पवृत्तलाई ऐले निठुरी यमराजले काटेर ढालिदियो ।
ती राजा जयसिंहरामका रूपको सुनौलो प्रतिमा त्यसपछि गोपिनारायण (वंशी–गोपाल) चतुर्मुखी देव तथा शिवको प्रतिभा सबै सुनौला बनाएर फेरि यसै पुरवर रम्य अरमपुर पनौतीमा परमेश्वरको स्थापना गरियो । राष्ट्रध्वजका देवता चन्द्र सूर्य आकाशमा रहेसम्म यो कीर्ति अस्थिर रहोस् । संवत ५२१ कात्तिक का. दि. १४ आश्वनी नक्षत्र व्यतीपात शिः योग रविवारका दिन महामत्रिश्वर (प्रधानमत्री) जयसिंहराम वडा महथ भारदारको श्री बिष्णुलोकमा राम्ररी पुगेको दिन भयो । यस पनौती देशमा श्री गोपीनारायण महाराज गोपाल कृष्णको श्री परमेश्वरी (राधा) सहित गरेर सुनौलो मूर्तिदान गरेर जयशिंहराम बडा महथ भारधारको प्रतिरूप (जस्ताको तस्तो सालिक) देव प्रतिभामा लीन गरेर प्रतिष्ठा गरी यो देवलको सुनौलो छानु बनाई सिध्यायेर थापना भयो । चारमुखे सुनौलो कोवा (खोल) श्री श्री इन्द्रेश्वर सदाशिव महाराजको दोहोरो बनाइयो । वर्ष वर्षमा यस वर्षावन्धनका दिन श्री श्री पशुपतिमा श्री चाँगु नारायणमा श्री विष्णुतीर्थ (बुढानिलकण्ठ) या पञ्चामृतले स्नान गराउनु । लिन्दिका ब्राह्माणहरू र लिम्छिका बौद्ध भिक्षुहरूलाई आधा आधा भाग गरेर सुन दोहोरो दान भयो । शुभम् ।।
जे माग्यो त्यही पाइने कल्पवृक्ष सहरका पनौतीका दानी राजा जयसिंहराम वर्धनले गरेको दान एवम् स्थापना गरेको नारायणका मूर्ति, शिलातुलाखम्बा, इन्द्रेश्वर महादेवको शिवलिङ्गमा चारमुखे सुनको खोल आदि माथि उल्लेखित वर्णन रहेको सुनको पातामा लेखिएको स्वर्णपत्र पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगी नरहरिनाथले लगको रे भन्ने सुनेको पनि ६० वर्ष नाघिसक्यो । हाल उक्त स्वर्णपत्र कहाँ छ ? योगीले पनौतीमै फिर्ता ल्यायर बुझाए वा उनीसित छ । अथवा सरकारको कुनै निकायमा बुझाइसके ? सबैको जानकारीका निम्ति सम्बन्धित निकाय वा सरोकारवालाले सूचना जारी गर्नुपर्ने समय भयो । उक्त स्वर्णपत्र पनौतीको हकदार त हुन्छ नै तर पनि पुरातात्त्विक र प्राचीन वस्तु भएकाले त्यो देशकै सम्पदा होे । त्यो विश्व सम्पदा नै भनेमा अत्युक्ति हुने छैन । अब त्यस वस्तुबारे सोधखोज एवम् जानकारीका निम्ति सम्बन्धित निकाय र नगरपालिकाले विशेष चासो देखाउन जरुरी भइसकेको छ ।